बिबिध

नेपालमा ५५ देशबाट वैदेशिक लगानी

Lumbinikhabar Online

नेपालमा ५५ देशबाट वैदेशिक लगानी भित्रिएको पाइएको छ। जसमध्ये ६० प्रतिशतभन्दा बढी लगानी उद्योग क्षेत्रमा आएको छ। नेपालमा सबैभन्दा बढी लगानी भारतले गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतबाट ७५ अर्ब ८० करोड रुपैयाँ भित्रिएको छ।

चीनबाट ३३ अर्ब भित्रिएको छ। आयरल्यान्डबाट १६ अर्ब ५० करोड तथा सिंगापुरबाट १५ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो २०७८ असार मसान्तसम्मको तथ्यांक हो। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ।

चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २०२०/२१’ प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानीको अवस्थाबारे देखाएको छ।

नेपालले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लगानीको ६०.५ रकम औद्योगिक क्षेत्रमा गएको प्रतिवेदनले देखाएको छ। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रतिवेदन प्रकाशन गर्दै आएको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन्। अघिल्ला वर्षहरूको तुलनामा मुलुकभित्र रहेको एफडीआईको स्टक सन्तोषजनक नै रहेको छ।

Tags

छुटाउनु भयो कि ?