नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरे विषय अदालत पुग्ने बताएका छन् । आफूले केही दिनअघि राष्ट्रपति भेट्दा यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा देखेको दाहालले सुनाए । ‘मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेटेर कुरा गर्दा उहाँचाहिँ यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने मुडमा देख्याथे मैले,’उनले भने, ‘त्यसकारण प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । त्यसो भयो भने एउटा कुरा, अदालतमा जान्छ मुद्दा । दोस्रो, उहाँले राजीनामा दिने ।’
आफूले राष्ट्रपतिलाई दोस्रोपटक पनि प्रमाणीकरण नगरे या राजीनामा दिनुपर्ने स्थिति आउने या यो विषय अदालत जाने बताएको पनि दाहालले सुनाए ।
प्रेस सेन्टर कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास भने व्यक्त गरे । उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ ।’ अध्यक्ष दाहालले वैवाहिक अंगिकृतलाई थाँती राखेर जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाऊन् भनेर विधेयक ल्याइएको प्रष्ट गरे । वैवाहिक अंगिकृतलाई भारतमा जस्तै नेपालमा पनि समान प्रावधान हुनुपर्ने पक्षमा आफूहरु रहेको उनको भनाइ थियो ।