टप खबर

राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

काठमाडौं । आज भोली चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरु चुनावी एजेण्डालाई लिएर छलफलमा जुटीरहेका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अबस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन बुझन सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरु लागेकै छन । स्वतन्त्र उम्मेदवारहरुले जित्ने हुन की भनेर राजनीतिक दलका नेताहरुमा अत्यधिक छटपटाहट पनि देखिएको छ । दलका नेताहरु चुनाव जित्न जुनसुकै हथकन्डाको अवलम्बन गर्न तयार छन ।

सत्ता गठबन्धनले चुनावमा दुईतिहाई बहुमत ल्याउने दाबी गरिरहेको छ । तर गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो की भन्ने चिन्ता पनि छ । लोकतन्त्रमा हरेक पार्टी अलक अलक चुनावी प्रतिष्प्रर्धा गर्नु पर्ने हो तर नेपाली काँग्रेस, माओवादी केन्द्र, माधब नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टी जसपा नेपाल किन अलक अलक चुनाव लडन डराईरहेका छन ? बरु नेकपा एमाले एक्लै चुनावी मैदानमा खडा हुने तयारीमा छ । उसले गठबन्धनलाई ठाडै चुनौति दिदै आइरहेको छ । चुनावी परिणामले के देखाउने हो त्यो त पछि नै थाहा होला ।

नेपालमा केही वर्ष अघिदेखि गठबन्धनको राजनीतिले जनतालाई अलमलाइरहेको छ । अब जनता अलमलमा पर्ने अबस्थामा छैनन् । आगामी चुनावमा जनताले आफै बिबेक प्रयोग गर्ने वाला छन । तालमेलको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो त केवल चुनाव जितेर मिलीजुली खाने खेल हो । यो अभ्यासको विकृत रूपलाई जनताले समयमै चिन्नु पर्छ । पार्टीको नीति बिचार, शिद्धान्त बिपरित दलबीचको गठबन्धनले मुलुकलाई के निकास दिन्छ ? यस प्रकारका गठबन्धनले मुलुकलाई बर्वाद गर्ने र मुलुकको बिकासलाई पछाडी धकेल्ने खेल हो । आस्था र सिद्धान्तको राजनीति हराउदै गएको छ । नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरी प्राप्त गरेको लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ । शहीदहरूको सपना पुरा हुन सकिरहेको छैन ।

हामीले देखिरहेका छौं , आज सैद्धान्तिक राजनीतिलाई तिलाञ्जली दिने काम भइरहेको छ । नेताहरु व्यक्तिगत सम्पत्ति जोड्ने होडवाजीमा छन । यसरी देशको प्रगति हुने अबस्था देखिदैन । नेपालको राजनीतिमा गलत र भ्रष्ट पात्रहरु हावी हुदै छन । यीनीहरुलाई आगामी चुनाववाट रोक्नु पर्छ । गठबन्धन दलहरु सिद्धान्तविपरीत हिडिरहेका छन । उनीहरु कहाँ पुग्ने हुन कुनै ठेगान छैन । गन्तव्य बिनाको यात्रा अधुरो हुन्छ । नेपालको लोकतन्त्र र राजनीतिक प्रणाली नै अस्तव्यस्त हुने हो की भन्ने चिन्ता सबै तिर छ । गठबन्धनको यो कस्तो प्रपञ्च हो बुझि सक्नु छैन । सिद्धान्त नै नमिल्ने दलबीच गठबन्धन छ । यसले मुलुकको भविश्य कसरी निर्माण गर्छ ।

निर्वाचनमा मत माग्न जादा साम्यवादी र लोकतन्त्रवादीको साझा एजेन्डा कसरी बन्ने होला ? विषय गम्भीर बनेको छ । यसले देशको राजनीतिलाई विकृत अवस्थामा पु(याइराखेको छ । २०४८ सालको निर्वाचनमा बहुमतमा रहेको नेकाको सरकार पूरै समय टिक्न सकेन । त्यस पछि मध्यावधि निर्वाचन भयो । मध्यावधि निर्वाचनमा काँग्रेसले बहुमत गुमाउन पुग्यो । राजनीतिक विकृति त्यही बिन्दुबाट प्रारम्भ भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस र माओवादी बीच गठबन्धन गरेर चुनाव लडे । स्थानीय चुनावमा आफना सिट सुरक्षित गरेर काँग्रेसलाई धोका दिदै प्रचण्ड एमाले संग मिल्न गए ।

एमाले र माओवादीले संसदीय निर्वाचनमा वाम तालमेल र चुनाव पछि पार्टी एकता गरे । चुनावमा दुईतिहाई बहुमत ल्याए र सरकार पनि बनाए । तर त्यो बहुमतको सरकार पनि पुरै अवधी टिक्न सकेन । प्रचण्ड र माधव नेका सँग गठबन्धन गर्न पुगे । यो सबै सत्ता स्वार्थको राजनीति हो । यी सबै हर्कतमा देशको भविष्य अन्योलमा छ । समृद्धिको सपना अधुरै छ । यस प्रकारको राजनीतिक संस्कारको विकास भएको छ । यो विकृतिले देश र लोकतन्त्रलाई अघि बढ्न दिँदैन ।

आज नेताहरु राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा लिने अवस्थामा पुगेका छन् । एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जित्न नसकिने अबस्था देखेर प्रचण्ड, माधव, उपेन्द्र लगायतका नेताहरु गठबन्धनको सहारा लिन पुगेका हुन । राजनीतिक दलहरूका शीर्ष नेताहरु नै चुनाव हारिन्छ की भन्ने डरमा छन । सबैभन्दा सुरक्षित देखिएका प्रधानमन्त्री देउवालाई उनकै समर्थक कर्ण मल्लले चुनौती दिएका छन् । ओली, प्रचण्ड, माधब, झलनाथ लगायतका शीर्ष नेताहरुको सुरक्षित क्षेत्र देखिँदैन ।

Tags

छुटाउनु भयो कि ?