News in Nepali

प्राज्ञिक द्वारा रसुवा मा.विका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Lumbinikhabar Online

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चिनकाे सिमाना जाेडिएकाे रसुवा जिल्लाको धुन्चेमा रहेको श्री रसुवा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
यस अघि परिषद्ले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालय र दोलखाको कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको र बाकी ८ वटा हिमाली जिल्ला बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिनाले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको उल्लेख गर्नुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै ६ नम्बर वाडाका वाडाध्यक्ष दावासिदार वाइवा र निमित्त प्रधानाध्यापक तिलक घिसिङले प्राज्ञिकले गरेको सेवाकार्यको प्रसंशा गर्दै प्राज्ञिकलाई धन्यवाद दिनुभयो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गाेसाईकुण्ड गाउँपालिका वडा नं ६ वडा अध्यक्ष दावासिदार वाइवा, सामाजिक व्यक्तित्व रिसाङ घले, विद्यालयका निमित्त प्रधानाध्यापक तिलक घिसिङ, विद्यार्थी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना एवं त्रिवि इकाई समिति सदस्य अर्जुन बगालेको उपस्थिति रहेकाे थियाे ।
२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।

Tags

छुटाउनु भयो कि ?