टप खबर

प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने: कुलमान घिसिङ

Lumbinikhabar Online

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । उनले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताए । उनले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताए ।

घिसिङले भनेका छन्, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागि रहन्छ ।’ उनले थप भनेका छन्, ‘तपाईहरुलाई प्रतिबद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत व्यापार गर्न सफल भएका छौं । सानो झिल्कोले पनि ठूलो काम गर्छ । साना कुरामा चिन्ता गर्नपर्छ जस्तो लाग्दैन । यो शुरुवात हो ।’ यसका साथै उनले शुरुवातमा केही शुभ संकेत देखाएको र आगामी दिन धेरै राम्रो बन्दै जाने उनको भनाइ छ । उनले थपे, ‘विद्युत निर्यातका विषयमा चिन्ता गर्नु पर्दैन । चिन्ता प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने कुरामा गम्भिर हुनुपर्छ ।’ उनले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गरे । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताए ।

Tags

छुटाउनु भयो कि ?