टप खबर

नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने: गृहमन्त्री बालकृष्ण खाँण

Lumbinikhabar Online

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने धारण राखेका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजित कोभिड-१९ रोगविरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भइसकेको नागरिकता विधेयक अझै पनि किन स्वीकृत नभएको विषय आफूहरुले बुझ्नै नसकेको बताए।

उनले पटक-पटकको छलफलपश्चात् सबै राजनीतिक दलको सहमतिमा ल्याइएको नागरिकता विधेयक स्वीकृत गर्न (राष्ट्रपतिलाई) आग्रह गरे। सीमाको रक्षा गरेर बसेका नेपाली नागरिकका सन्तान आफ्नै देशमा अनागरिक भएर बस्नुपरेको पीडाबारे उल्लेख गर्दै उनले विधेयक स्वीकृतपश्चात् सरकारी स्वामित्वमा रहेका कार्यालयमा जागिर, उद्योगी, व्यवसायी बन्नसक्ने बताए।

वर्तमान समयमा नेपाली आमा बाबुका करिब ६ लाख सन्तानहरु नागरिकताबाट वञ्चित भएकाले उनीहरुलाई नेपाली नागरिक भएको अनुभूति दिलाउन पनि नागरिकता विधेयक स्वीकृत हुन आवश्यक रहेको उनले जनाए।

उनले पूर्व सरकारले ल्याएको विधेयकमा सार्क मुलुकबाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको विषयमा मात्र संशोधन गरी अन्य विषयहरु जस्ताको त्यस्तै रहेको प्रष्ट पारे।

कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउँदै उनीहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनुपर्ने बताए।

Tags

छुटाउनु भयो कि ?