सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। बिहीबार नेप्से परिसूचक १८.९६ प्रतिशतले घटेर २०३७.९२ विन्दुमा झरेको छ | सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार बिहीबारसम्म जारी रह्यो। यसदिन नेप्से दोहोरो अंकले ओरालो लागेसँग कारोबार रकम पनि घट्यो। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भयो।
बुधबार परिसूचक ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा बन्द भएको थियो। सो दिन १ अर्ब ९३ बराबरको सेयर कारोबार भएको थियो।सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले घटेर ३९१.६६ विन्दुमा अडिएको छ। यसदिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो। हिमालयन हाइड्रो पावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य क्रमश ९.९९ र ९.९८ प्रतिशतले बढेको हो। युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ८.२३ प्रतिशतले घट्यो। यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्टस शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड २७ लाख बढीको सेयर कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक ओरालो लाग्यो भने १ को मात्रै बढ्यो। फाइनान्स र अदर्श समूहको सूचक २ प्रतिशत बढीले घट्यो। १२ समूहको सूचक घटेको सेयर बजारमा म्युचुअल फन्ड समूहको सूचक भने ०.४६ प्रतिशतले बढ्यो।