टप खबर

एसइईको नतिजा आज प्रकाशित हुने

Lumbinikhabar Online

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो’, उनले भने । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ ।

शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक-शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?