कार्यक्रम

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

Lumbinikhabar Online

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ ।

नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ ।
चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।

अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रालिका सचिव गोकर्ण लामिछानेले बताउनुभयो । उहाँले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशीसमेत दिन थालिएको जिकिर गर्नुभयो । सुरुमा ठूलो रकम दिन नसकिएपनि यो एउटा सुरुवात भएको उहाँको भनाई थियो ।

अवार्ड वितरण कार्यक्रमलाई स्वस्थ, मर्यादित बनाउन, यसका विषय लाग्ने गरेका आरोपहरूलाई खण्डित गर्न पनि आफ्नो संस्था लागिरहेको उहाँले बताउनुभयो । आफ्नो संस्थाले यसअघि वितरण गरेका अवार्डमा पनि कुनै चलखेल नगरेको भन्दै उहाँले रिवार्डले झन् संस्था, कलाकार÷सर्जक÷स्रष्टाको गरिमा बढ्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री (शान्ति तथा पुनर्निर्माणमन्त्री) एवम् प्रतिनिधिसभा सदस्य सत्य पहाडीले यस्ता कार्यक्रमले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा साधनारत व्यक्तिहरूलाई हौसला मिल्ने बताउनुभयो ।
उहाँले देशको कला, संस्कृति, साहित्य, सङ्गीतले अन्तर्राष्ट्रिय रूपमा पहिचान विस्तारमा सहयोग पुग्ने हुँदा यस क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशको पहिचानलाई सभ्य बनाउन र जगेर्ना गर्ने राजनीतिभन्दा पनि यो क्षेत्रको योगदान बढी हुने बताउनुभयो । कला, साहित्य, सङ्गीत र सिर्जनाले मान्छेलाई ऊर्जा प्रदान गर्ने भन्दै पूर्वमन्त्री पहाडीले यो क्षेत्रले समाज र देश बोल्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ले कला, साहित्य, सङ्गीत र सिर्जना अमूल्य निधि भएकाले यसको संरक्षण र विस्तारमा लाग्नुपर्ने बताउनुभयो । सामना म्युजिक क्रियसन यसमा लागिरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । यो क्षेत्रसँग सम्बन्धित सबैजना यसरी नै लाग्ने हो भने यसको गरिमा र महत्त्व अहिलेको भन्दा झन् बढ्ने उहाँको दाबी थियो । अन्य देशहरूमा कला, साहित्य क्षेत्र त्यहाँको सभ्यता र संस्कृतिको परिचायक भएको भन्दै उहाँले नेपालको सभ्यता, संस्कृति र पहिचानका लागि यो क्षेत्र अझै जुर्मुराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले राज्यले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले कलाकारलाई राष्ट्रका गहना भन्ने गरेकोमा समेत चित्त दुखाउनुभयो । कलाकार राष्ट्रका गहना नभएर राष्ट्रको परिचायक रहेको उहाँको जिकिर थियो । कलाकार राष्ट्रको पहिचानका दूत भएको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समुन्नत र सुसंस्कृतिक क्षेत्र बनाउनुपर्ने उहाँको भनाइ थियो । यसका लागि यस क्षेत्रमा साधनारत सबै लाग्नुपर्ने र राज्यले समेत उपेक्षा गर्न नहुने उहाँले बताउनुभयो । कार्यक्रममा कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

Tags

छुटाउनु भयो कि ?