खेलकुद

ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

Lumbinikhabar Online

काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो ।

ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सञ्चालन गरिने सबै खालका खेलका लागि विद्यालयको पुर्वाधार सक्षम रहेको बताउनुभयो । विविध खेलकुद कार्यक्रम आउँदो असार ८ गतेसम्म चल्नेछ ।

कार्यक्रमअन्तरगत फुटबल, बास्केटबल, एकेटिङ, टिटि, तेक्वान्दो, स्विमिङ, कराँतेलगायतका खेलहरु खेलाइने विद्यालयका इसिए कोअर्डिनेटर राकेशकुमार राईले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका सञ्चार निर्देशक चिराग वाङ्देलले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो समारोहमा विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जनले प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनोसमेत प्रदान गर्नुभएको थियो ।

Tags

छुटाउनु भयो कि ?