काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन् ,-‘अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।’ उनले अव फोहोर संकलन गर्ने गाडीले नछुट्याएको फोहोर संकलन नगर्ने बताए ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्ने गरिएकाे सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपनि लामो समयसम्म महानगरको फोहोर उठ्न सकेको छैन । यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको भनिएपनि बन्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेका छन् ।