श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी माझीको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० निवासी माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको हो ।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले घरायसी विवादको क्रममा श्रीमती गीताको मलद्वारमा लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको थियो । उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी भाँच्चिएको थियो ।
प्रहरीका अनुसार आरोपी रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ र उनी विरुद्ध ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने बताइएको छ ।