काठमाण्डाै महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाण्डौको फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने पनि बताएका छन् ।
आज सोमबार महानगरपालिकाको पदबहाली गरेका उनले यस्तो बताएका हुन् । आफ्नो मुख्य एजेन्डा नै काठमाण्डौको फोहर व्यवस्थापन भएकाले नुवाकोटका नागरिकलाई असर नपर्ने गरी फोहर व्यवस्थापनको काम गर्ने साहको भनाइ छ ।
‘हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग लागेको छ । यो शोक मनाउने बेला हो, फोहरको व्यवस्थापन नहुन्जेल र सिसडोलवासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरू काम हुँदैन’, साहले भनेका छन् ।