टप खबर

स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिदै

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरु इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गदै जाने छन । अहिलेको स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ ।

अब नेपालका राजनीतिक दलहरुले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ ।

काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि छन । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार शाह मतमा अघि देखिनु भनेको दलहरुका लागी ठूलो चुनौति हो । धरान उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ले गठबन्धन र एमालेका उम्मेदवारलाई धुलो चटाउदै धरानको मेयर बने । यसलाई कसैले पनि समान्य रुपमा हेर्नु हुदैन ।

जनता हाम्रो मान्छे भन्दा राम्रा मान्छे चुन्न चाहान्छन भन्ने संकेत हो । अहिले दलीय लोकप्रियता निकै घट्दै गइरहेको देखिएको छ । अब दलका नेताहरु गम्भिर बन्नु पर्ने अबस्था छ । केही ठाउँमा स्वतन्त्र उम्मेदवारको जितले राजनीतिक दल र तिनका नेताहरुलाई लाजले मुख छोप्ने बनाएको छ । राजनीतिक दलले यसलाई सामान्य रूपमा लिए भोलीका दिनमा उनीहरुलाई नै समस्या आउने छ ।

स्वतन्त्र उम्मेदवारको जित हुनु भनेको दल विरुद्धको विद्रोह हो । दल र तिनका नेता तथा उम्मेदवारको सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन आउन नसक्नु नै यो समस्या हो । व्यवस्था फेरियो, तर जनताको अबस्था फेरिन सकेन । त्यही भएर जनताले यस्तो फैसला गरेका हुन ।

दलका नेता जनतामाझ लोकप्रिय हुन सकेका छैनन् । अब राजनीतिक दलले समय छँदै बिचार गर्नु पर्छ । यदि दलहरुले समय छँदै बिचार गर्न सकेनन् भने उनीहरुको राजनीतिक भबिश्य अन्योल हुने निश्चित छ । जनतालाई सेवासुविधा दिन नसक्ने दल र तिनका नेताहरु अब बिस्तारै जनताबाट अस्वीकृत हुने छन ।

राजनीतिक दलले देश र जनताको पक्षमा काम गर्न नसकेर नै यो स्थिती आएको हो । यसलाई समय छँदै राजनीतिक दलले मनन् गर्न जरुरी छ । अब जनता ढाँटेर ढाँटिने अवस्थामा छैनन् । जनता धेरै सचेत छन । जनचेतना निरन्तर बदलिँदो छ । राजनीति जनताको पक्षमा हुनु पर्छ ।

राजनीति भनेको समाज सेवा हो । तर राजनीतिलाई ब्यापार बनाइएको छ । यो नेपालको राजनीतिमा ठूलो समस्या हो । हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र ठिक छैन । उनीहरूले आफ्नै स्वार्थका लागि राजनीति गरिरहेका छन ।

Tags

छुटाउनु भयो कि ?