धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ ।
कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो ।
घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार जारी छ ।
यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए ।
आक्रमण कस्ले र किन गर्यो भन्ने केही पत्ता लागेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।