सल्यानमा काङ्ग्रेस बाट उपमेयरमा उम्मेदवारी दिएका एक नेता पार्टी बाटै निस्कासित भएका छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका काँग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो ।
काँग्रेस अनुशासन समितिका संयोजक सन्तोष केसीले पार्टीका आधिकारीक उम्मेदवारका विरुद्ध विष्टले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताए । उनले भने,‘पार्टी विरुद्ध लागेको हुँदा विष्ट सहित उनका समर्थक मानिने चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) निष्कासन गरिएको हो ।’ तीनै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको काँग्रेसले बताएको छ । विष्टको समूहले नेकपा एमालेसँग तालमेल गरिरहेको छ ।