काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताएकी छन् ।
आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ ।
उनले भनिन् , ‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो । ´
आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको बताइन् ।
काठमाडौं महानगरपालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको समाचार बाहिरिएको थियो ।