रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वडा- १ मा दुई उम्मेदवारका समर्थकबीच सोमबार राति खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन् ।
गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवार र स्वतन्त्रबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका सुन्दर ओलीका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा रुँघाका धर्मेन्द सुनार, टिकाजंग मल्ल, जीवन पुन, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन रहेका छन् ।
घाइतेमध्ये धर्मेन्द्र, टिकाजंग र जीवनको अवस्था गम्भीर भएकोले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य ३ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले स्थानीय तह निर्वाचनको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्षसहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी बिषयमा विवाद भएको हो । तर स्वतन्त्र उम्मेदवार सुन्दर ओलीले भने आफूहरुको कारण झडप नभएको बताएका छन् ।