नेपाली काँग्रेसको नेता डा.शेखर कोइरालाले विराटनगरको अवस्था राम्रो नभएको बताएका छन् ।
सोमबार विराटनगरका माओवादी नेताहरुसँगको छलफलमा सो धारणा राखेका हुन् । नेता कोइरालाले माओवादी नेताहरुलाई आफ्नै निवासमा बोलाएर अब मिलेर जानुपर्ने धारणा राखेका छुन् ।
विराटनगरको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेश यादवले निक्कै भोट काट्ने आँकलन सहित कोइरालाको सक्रियता बढेको हो ।
यस्तै माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेद्वारी दिएकी छिन् । उनको र यादवको चुनाव चिन्ह ‘लालटिन’ कायम भएको छ । कोइरालाले माओवादी विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादव र माओवादी विराटनगर अध्यक्ष नविन पौडेलसँग छलफल गरेका हुन् ।
भेटका अवसरमा कोइरालाले विराटनगरको ६ नम्बर वडामा माओवादीलाई सघाएर जाने आसय व्यक्त गरेका छन् । जवाफमा माओवादी नेता पौडेलले ६ नम्बरमा माओवादीलाई कसैको सहयोग नचाहिने, बरु अन्य वडामा मिलाउने प्रयास गरेमात्रै गठबन्धनले सहज जित निकाल्न सक्ने बताएका थिए । भेटका अवसरमा काँग्रेसले काँग्रेसलाई नै विराटनगरमा हराउन लागेको र पहिले पार्टी मिलाएर आफूहरुसँग छलफल गर्न कोइरालालाई सुझाव दिएको पौडेलले बताए ।