जुम्लामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एउटै पदमा दोहोर्याएर उम्मेदवार नबनाउने भएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।
आइतबार सार्वजनिक गरिएको उम्मेदवार प्रतिवद्धता पत्रमा निर्वाचित वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारी दावी नगर्ने प्रतिवद्धता जनाउन लगाइएको छ ।
‘म यो पटक उम्मेदवारी भइसकेको अवस्थामा विजयी हुँदा वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारीमा दावि गर्ने छैन’ उम्मेदवारको प्रतिवद्धतापत्रमा भनिएको छ ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्र्रबहादुर महतले प्रतिवद्धतापत्रमा पार्टीका सबै उम्मेदवारले प्रतिवद्धता जनाउनुपर्ने बताए । एक पटक पाँच वर्षका लागि जनप्रतिनिधि भएपछि फेरि आशा गर्नु राम्रो नहुने भन्दै उनले उम्मेदवारलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएको बताए ।
जुम्लामा माओवादी केन्द्रका उम्मेदवारले निर्वाचित भएपछि पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाउने प्रतिवद्धता पनि जनाउनुपर्नेछ ।