News in Nepali

श्रीलंकामा सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

Lumbinikhabar Online

श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरेको छ । सोही कारणले श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ र आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता रहेको छ ।

सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले भने । रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् ।

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई–तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले भनिन् ।

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित छन् । मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्यूरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?