News in Nepali

उर्जामन्त्री भुसाल र नेपालका लागि इस्टोनियाकी राजदूत किभी बिच भेटवार्ता

Lumbinikhabar Online

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभी बिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको उनीहरूबीचको भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटक आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

जलविद्युत् विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “नेपाल जलविद्युत् लगानीको महत्वपूर्ण क्षेत्र हो, इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिन् ।

यस्तै, राजदूत किभीले पनि इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिँदै नेपालसँग सहकार्य गर्न सकिने बताइन् । उनले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने जनाउँदै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताइन् ।

Tags

छुटाउनु भयो कि ?