पत्रकार आचार संहिता उल्लंघन गरेका पत्रकार ऋषि धमलाले नेपाल प्रेस काउन्सिलको कारवाहीस्वरुप एकदिने ‘आचार संहिता अभिमुखीकरण कक्षा’ लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा अनुमतिबिना विमानभित्र छिरेर जहाजभित्र जबर्जस्ती लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत अनुमति बिना पसी लाइभ गरेको विषयमा काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रबार कक्षामा राख्ने र आइन्दा उल्लंघन नगर्न सचेत गराउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई पालना गर्दै धमला शुक्रबार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए । काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनकर्तालाई आवश्यकता अनुसार अभिमुखिकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो ।
आचार संहिता उल्लंघनमा कक्षा लिने धमला पहिलो पत्रकार भएको काउन्सिल स्रोतले जानकारी दियो । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई ‘सचेतना कक्षा’ सञ्चालन गरेजस्तै प्रेस काउन्सिलले पनि गत चैत १ गतेदेखि यस्तो नियम लागू गरेको थियो ।
यस्तो खालको कक्षामा सहभागी धमला पहिलो पत्रकार हुन् । तर, नयाँ अनलाइनका सञ्चालक, सम्पादक र सञ्चारकर्मीलाई पनि आचारसंहिता कक्षा काउन्सिलले अनिवार्य गरेको छ । यही चैत १ गतेदेखि काउन्सिलले अनलाइन दर्ता गर्नुपूर्व सञ्चालक, पत्रकारहरुले अनिवार्य रुपमा आचारसंहिता अभिमुखिकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको हो । त्यस्तो कक्षा लिएपछि मात्र काउन्सिलले अनलाइन सूचीकरण गर्न थालेको छ ।
शुक्रबारको कक्षामा धमलासँगै यस्ता सूचीकरण प्रक्रियामा रहेका सञ्चालक र पत्रकारहरुसमेत थिए । काउन्सिलले कक्षाका लागि विज्ञका रुपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई बोलाएको थियो ।