नारायण वाग्ले द्वारा लिखित उपन्यासमा आधारित थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ले शुक्रबारबाट नियमित प्रदर्शन थालेको छ ।
मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाख २५ गतेसम्म मञ्चन हुनेछ ।
सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गरेका छन् ।
प्रेम र द्वन्द्वको बराबर मात्रा पस्किने नाटकले उपन्यासभन्दा पर रहेर बेपत्ता परिवारको मनोदशालाई सशक्त रुपमा प्रस्तुत गरेको छ । नाटकले मल्टिमिडियाको प्रयोगबाट द्वन्द्वको त्रासदीदेखि दृश्य र पल्पसाको प्रेमलाई जीवन्त तुल्याएको छ ।
सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।
नाटकमा सृष्टि र विमलका साथमा दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।