विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् ।
तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् ।
नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने जनाइएको छ । गेब्रेयसस नेतृत्वको टोली वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।