आर्टिकल्स

स्थानीय तहको चुनाव नजिकिँदै

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

काठमाडौं- जति स्थानीय तहको चुनाव नजिकिँदै छ त्यति चहलपहल पनि बढदै गएको छ । शहर बजारको चोक चोकमा र गाउँघरको टोल टोलमा चुनावकै कुरा चलिरहेको छ । बिभिन्न राजनीतिक दल र तिनका नेताहरु घोषणापत्र मार्फत जनताको मन जित्ने कोशिस गरिरहेका छन । तर जनता घोषणापत्रको मात्र बिश्वास गरिरहेका छैनन् ।

बिगतका चुनावमा पनि घोषणापत्र मार्फत जनता संग भोट मागिएको थियो । अब जनताले परिणाम खोजिरहेका छन । झुठा आश्वासन र गुलिया सपनाले जनता वाक्क दिक्क बन्दै आएका छन । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि जनता बिश्वस्त हुन सकेका छैनन् । कारण के हो भने घोषणापत्रमा उल्लेख भए बमोजिमका कुरा कार्यान्वयनमा आउन सकेनन् ।

स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकास होस् भन्ने चाहान्छन् । जनताले खोज्ने भनेको स्थानीय तहमा देखिएका समस्याको समाधान हो । जनताले कागजमा लेखिएको घोषणापत्रलाई मात्रै विश्वास मानेर भोट हाल्नुहुँदैन ।राम्रा र योग्य, इमानदार उम्मेदवारलाई भोट दिएर जिताउनु पर्छ । हिजोका दिनमा कुन राजनीतिक दलका नेताले के गरे ? कस्तो काम गरे ? जनताका सुख दुःखमा कतिको साथ दिए ? यी प्रश्न माथि समिक्षा हुन जरुरी छ ।

संघीय शासनअनुसार पनि केन्द्रको अधिकार गाउँसम्म पु¥याउन स्थानीय तहको व्यवस्था गरिएको हो । फेरि संघीयताको मूल मर्म नै गाउँघरमा दिइने सेवा हो । यो सेवा दिने मुख्य निकाय भनेकै स्थानीय तह हो । त्यसैले स्थानीय तहको निर्वाचानको चर्चा बढेर गएको हो । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिहरुले स्थानीय तहको विकास के कति गरे प्रश्न उठाउनु पर्ने बेला हो यो । उनीहरु नै फेरि जनताको घर दैलोमा भोट माग्न आउँदै छन ।

दलले खाली आकर्षक खालको घोषणापत्र बनाएर जनतामा अनावश्यक भ्रम छर्नुभन्दा पनि व्यावहारिक खालका कार्यक्रम ल्याउन सक्नुपर्छ । त्यसो भयो भने जनताले बिश्वास गर्न सक्छन । उम्मेदवार छनोट गर्दा स्थानीय स्तरमा नै बसेर काम गरेको र जनताको हरेक सुखदुःखमा प्रत्यक्ष साथै दिँदै आएको व्यक्तिलाई उम्मेदवार बनाएर जिताउँदा राम्रो हुन्छ । जनताले दलको घोषणापत्रलाई मात्रै विश्वास नगरी इमानदार र योग्य उम्मेदवारलाई जिताउने माहोल खडा गर्न सक्नु पर्छ ।

समय छदै सोचविचार गरिएन भने भोली पछुताउनु पर्ने दिन आउन सक्छ । त्यसैले हामी सबै मतदाताहरु यो बिषयमा गम्भिर बनौं । आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सबै मतदातालाई छ । पाँच वर्षसम्म आफ्नो गाउँठाउँको विकास गर्न आउने जनप्रतिनिधि बिचार गरेर चुनौं । अहिले हामीले बिचार गर्न सकेनौं भने कहिले गर्ने ? समय आउँछ पर्खदैन । समय र युगको माग अनुसार अघि बढौं ।

Tags

छुटाउनु भयो कि ?