News in Nepali

एसियन कप छनोटका लागि नेपाली टाेली योग्य नभएको प्रशिक्षक अलमुताइरीको भनाइ

Lumbinikhabar Online

नेपाली फूटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले एसियन कप छनोटका लागि नेपाली फूटबल टाेली योग्य नभएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले सपना ठूलो देखे पनि वास्तविकतामा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए । यद्यपि उनले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए ।

नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अलमुताइरीले दुई महिनापछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि टाेली योग्य नभएको बताएका हुन् । नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यावसायिक खेलाडी भएको र उनीहरू युरोपबाट खेल्ने गरेको भन्दै उनले नेपाली टोलीमा अनुभवी र व्यावसायिक खेलाडी नभएको बताए । यही कारण एसियन कपमा नेपाली टोली छनोट हुन नसक्ने अलमुताइरीकाे भनाइ छ ।

नेपाली टोलीले दशरथ रङ्गशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो । छनोट प्रतिोगिताका लागि समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । यसमा हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् ।

छनाेटमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग खेल्नेछ । यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँच खेल्नेछ । त्यसअघि नेपाली टोलीले विदेश भ्रमण गर्दा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन ।

Tags

छुटाउनु भयो कि ?