नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेन्डाहरूलाई, मूल्य–मान्यताहरूलाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र नरोकिएको बताएका छन् ।
आज बिहीवार ललितपुरमा आयोजित पार्टीकाे ‘माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रम’ मा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रतिक्रियावादीहरूले देशभित्रका र देशबाहिरका सबैले माओवादीलाई क्षतविक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने षड्यन्त्र गरिरहेका छन्, त्यो षड्यन्त्रलाई परास्त गर्नु माओवादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदै छ । देश र जनताका निम्ति समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको सङ्घीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरू माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन् । अरू कुनै पार्टी र विचारबाट यो भएको होइन । माओवादी कमजोर हुनेबित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदोरहेछ भन्ने कुरा गएकाे वर्ष देखी नै हाल्यौँ । अझै पनि त्यो खतरा टरेको छैन । अहिले पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेन्डाहरूलाई, मूल्य–मान्यताहरूलाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र रोकिएको छैन । अब एक पटक फेरि क्रान्ति प्रक्रियालाई वैज्ञानिक समाजवादतिरको यात्रालाई माओवादीहरूकै सक्रियतामा अघि बढाउने बलियो आधार निर्माण हुँदैछ ।’
अध्यक्ष दाहालले सबै माओवादीहरू एकताबद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने बताए ।