कार्यक्रम

नयाँ वर्षमा टुंडिखेलमा ध्यान, नृत्य र उत्सवका साथ ‘सेलेब्रेसन’ विशेष कार्यक्रम हुँदै

Lumbinikhabar Online

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकको भनाइ छ ।

‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भन्नुभएको छ, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं । आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रमाउनुहोस् ।’

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने विश्वप्रसिद्ध निर्गुण कबीरवाणी गायक पद्मश्री विभुषित श्री प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुति रहनेछ । त्यस्तै नेपाली लोक सुप्रसिद्ध ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हाँस्य कलाकार स्ट्यान्डप कमेडियन मनोज गजुरेलले आफ्नो प्रस्तुति दिनुहुने छ, ।

गजल प्रस्रतोता प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक रोशन शर्माको पनि प्रस्तुति रहने जनाइएको छ । मौलिक नेपाली पर्वहरू ओझेल परि रहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने र हरेक वर्ष मनाउने आयोजकको लक्ष्य छ । कार्यक्रम सुरुवात ४ बजेबाट हुने जनाइएको छ भने कार्यक्रम स्थलमा ३ बजेबाट प्रवेश गर्न सकिनेछ ।

Tags

छुटाउनु भयो कि ?