नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरपालिकाकाे मेयरमा आफ्नाे पार्टीलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने बताएका छन् ।
आज शुक्रवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उनले गएकाे पालिका चुनावमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उनले यस पटक कांग्रेसलाई सहयाेग गर्न माओवादीलाई आग्रह गरे ।
सभापति खनालले भने, ‘समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो हाेइन । कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर यहाँ मत खसाल भन्न सकिँदैन । यसले चुनावकाे नतिजा सोचेको भन्दा फरक आउन सक्छ । कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्छ । यसबारेमा नेताहरुले पुनर्विचार गर्नुपर्छ ।’
उनले नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने पनि बताए । २०७४ सालको चुनावमा आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब माओवादीले नेपाली कांग्रेसलाई तिर्नुपर्ने उनले जिकिर गरे ।
गएकाे चुनावमा कांग्रेसले माओवादीलाई सहयाेग गरेकाे र यस पटक कांग्रेसलाई सहयोग गरे गठबन्धन बच्ने र संविधानको रक्षा पनि हुने उनको भनाइ छ ।