पशुपति क्षेत्र विकास कोषले बतास समूहद्वारा संचालित होटल आनन्दको गेटमा ताल्चा लगाएको छ । नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित उक्त होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले ताल्चा लगाएको हो ।
सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका थिए भने होटलमा पाहुना भित्र थुनिएका छन् ।
बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।
सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।
त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको थियो ।