राष्ट्रिय जनमोर्चाले आगामी बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा नेकपा एमाले र राजावादी पार्टीहरूसँग चुनावी तालमेल नगर्ने प्रस्ट पारेको छ ।
एमसीसी सम्बन्धी मतभेदका कारण पाँच दलीय गठबन्धनबाट हटे पनि जनमोर्चाले अहिलेको देशको राजनीतिक स्थितिमा प्रतिगमन नै मुख्य खतरा रहेकाले चुनावमा त्यसलाई पराजित गर्न सत्ता पक्षका चार दलसित चुनावी तालमेल गर्ने ठेगान गरेको जनाएको छ । त्यस्तै जनमोर्चाले त्यसका साथै प्रतिगमनका विरुद्धको संघर्षको क्रममा गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन पनि कायम राख्ने नीति अपनाएको पनि दोहोर्याएको छ ।
‘त्यसअनुसार सत्ता पक्षका चार दलहरुसित केन्द्रीयस्तरमा हाम्रा कैयौं बैठकहरु सफलतापूर्वक सम्पन्न हुनुका साथै प्रदेश र जिल्ला स्तरमा पनि चुनावी तालमेलका लागि बैठक र वार्ताहरु देशव्यापी रुपमा नै अगाडि बढिरहेका छन् । त्यसका आधारमा स्थानीय चुनावमा प्रतिगमनलाई पराजित गर्न सफल हुने छौँ भन्ने कुरामा हामीले आशा र विश्वास गरेका छौँ’, राष्ट्रिय जनमोर्चाको विज्ञप्तिमा भनिएको छ ।