सिरहाको एक विद्यालयमा दिवा खाजामा अनियमितता गरेको भन्दै प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको प्रजिअ कवारीले बताए ।
दिवा खाजाका लागि सरकारले रकम दिएको तर विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको उनले बताए । उनले भने, ‘हेडमास्टरलाई समातेर ल्याएका छौँ, अहिले उहाँलाई प्रहरी चौकीमा राखिएको छ, स्कूलका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन भनेका छौँ । सबै कागजात आएपछि छानबिन गरेर मात्र उहाँलाई छाडिनेछ ।’