News in Nepali

प्रदेश अस्पताल सुर्खेत परिसरमा गएकाे शनिवार कुकुरले डुलाएको नवजात शिशुको पहिचान खुल्यो

Lumbinikhabar Online

प्रदेश अस्पताल सुर्खेत परिसरमा गएकाे शनिवार कुकुरले डुलाएको नवजात शिशुको शव दैलेखको आठबीस नगरपालिका ९ का पवित्रा विकको रहेको खुलेको छ ।

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापर्बाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिवार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापर्बाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले त्याे शव दैलेखको आठबीस नगरपालिका ९ का पवित्रा विकका बच्चाको रहेको जनाएको छ । प्रहरीका अनुसार गत चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो । आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो । पवित्रा र उनका श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरूले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुन सक्ने बताएका थिए । प्रहरीले शवको सनाखत गराइ फेरि सुरक्षितरूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?