News in Nepali

आईसीसी एकदिवशीय महिला विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो

Lumbinikhabar Online

आईसीसी एकदिवशीय महिला विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राइष्ट चर्चमा साविक विजेता इंग्ल्याण्डलाई ७१ रनले पराजित गरी अस्ट्रेलियाले जित हासिल गरेको हो ।

अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली ४३.३ ओभरमा २८५ रनमै समेटियो ।

नेट सिभरले १४८ रनको शानदार पारी खेले पनि इंग्ल्याण्डलाई जित दिलाउन सकिनन् । एउटा एण्डबाट उनले पारी संहाले पनि अर्को एण्डबाट लगातार विकेट झरिरह्यो । सिभरले १२१ बलमा १५ चौका र १ छक्का प्रहार गरेकी थिइन् ।

बलिङतर्फ अस्ट्रेलियाकी एलाना किङ र जेस जोनासेनले ३-३ विकेट लिए । मेगान शटले १ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ओपनर एलिसा हिलेको शानदार शतकीय योगदानमा ठूलो स्कोर खडा गरेको थियो । अस्ट्रेलियाका शीर्ष क्रममा अरु दुई ब्याटरले पनि अर्धशतकीय योगदान गरेका थिए ।

हिलेले १३८ बलमा २६ चौकाको सहयोगमा १७० रनको करिअरकै उत्कृष्ट पारी खेलिन् । उनले रचेल हेनेससँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरिन् । हेनेसले ६८ रन बनाइन् ।

हिलेले दोस्रो विकेटका लागि बेथ मूनीसँग मिलेर १५८ रनको थप साभेदारी गरेपछि अस्ट्रेलियाले विशाल योगफल बनाएको हो । मूनीले ६२ रनको योगदान गरिन् ।

Tags

छुटाउनु भयो कि ?