News in Nepali

`सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौँको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ’ : सुनिता डंगोल

Lumbinikhabar Online

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाबाट मेयरको उम्मेदवार घोषणा गरेकी पूर्व मिस नेवा: सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्ने एजेण्डामा सुझावका लागि अपिल गरेकी छिन् ।

उनले भनेकी छन् ‘काठमाडौँ म जस्ता लाखौँ युवाको भाग्य र भविष्य निर्माण गर्ने सहर हो । म यहि सहरमा जन्मिए, म यहीँको माटोमा हुर्किए र धेरै कुरा सिक्ने अवसर पनि यहीँको माटो र परिवेशबाट प्राप्त गरेँ,’ उनले भनेकी छिन्, ‘त्यसैले मैले यहि माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौँको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ।’

डंगोलले मुलुक समृद्ध बनाउन नयाँ सोँच र जोस भएका युवा आवश्यक रहेको पनि अपीलमा उल्लेख गरेकी छिन् । ‘अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता देखिन्छ,’ अपीलमा भनिएको छ, ‘समृद्ध र सुन्दर काठमाडौँ महानगर बनाउन युवाहरुको भिजन अहिलेको आवश्यकता हो । त्यसैले मैले मेयर पदको उम्मेदवार बन्दै गर्दा आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह, युवाको नूतन सोँच र सवै जनताको सद्भावलाई आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

डंगोलले युवाहरुका नूतन सोँच र योजनालाई समावेश नगर्ने हो भने मेरो चुनावी घोषणापत्र अधुरो बन्न सक्ने पनि उल्लेख गरेकी छिन् । ‘त्यसैले यो सहरको मात्रै होइन मुलुककै भाग्य र भविष्य निर्माण गर्ने युवाहरुलाई साँस्कृतिक सहर काठमाडौँलाई थप समृद्ध बनाउने अठोटका लागि निर्माण गर्ने घोषणापत्रमा नवीनतम् सोँच समावेश गर्न युवाहरुका नूतन योजनाका लागि यहि अपीलमार्फत आग्रह गर्दछु,’ अपीलमा भनिएको छ ।

Tags

छुटाउनु भयो कि ?