अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्ष को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् ।
नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताएका हुन् ।
‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं’ उनले भने ।
अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरे । उनले अर्थतन्त्रमा केही असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै गुनासो पनि गरे ।