News in Nepali

आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने : अर्थमन्त्री शर्मा

Lumbinikhabar Online

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।

रुकुममा आज साेमवार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आउँदो वर्षको बजेट तयार गर्न केन्द्रित रहेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिए ।

अबको बजेट कृषि उत्पादनको आयात घटाउँदै निर्यात बढाउने गरी तयार हुने अर्थमन्त्री शर्माको भनाइ छ । उनले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रीत भएको भन्दै कृषि क्षेत्रलाई माथि उठाउन यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । ‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौं’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ ।’ कूल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।

जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने मन्त्री शर्माको भनाइ छ । ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्’ उनले भने, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।’

Tags

छुटाउनु भयो कि ?