News in Nepali

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने

Lumbinikhabar Online

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने भएकाे छ । आयोगले भर्खरै जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । याे व्यवस्थाले शिक्षालयमा दलगत राजनीतिक हस्तक्षेप रोक्न कडाइ हुने र भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ ।

निर्वाचन आयोग ऐन २०७३ अनुसार आयोगले यही चैत ३ गते नेपाल राजपत्रमार्फत जारी गरेको चुनाव आचारसंहिता यही चैत १५ गतेदेखि लागू हुँदैछ । आचारसंहिताको परिच्छेद २ को ‘ग’ अनुसार ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ व्यवस्था कायम गरिएको हो । परिच्छेद ४ को ‘ट’ ले राजनीतिक दल, उम्मेदवार वा दलका भातृ सङ्गठनले १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनावी प्रचारप्रसार, धर्ना, जुलुस, आमसभामा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

त्यही आचारसंहिताको परिच्छेद २ को ‘छ’ अनुसार १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने, परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकले कुनै पार्टीको प्रचारप्रसार गर्न नपाउने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुने, शिक्षकहरूले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन र मत माग्न नपाइने उल्लेख गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?