News in Nepali

बालिका हत्या प्रकरण पछि आन्दोलन गर्ने ८ महिला सहित २ जना युट्युबर पक्राउ

Lumbinikhabar Online

मोरङमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्न खोज्ने ८ जना महिला सहित २ जना युट्युबरलाई पक्राउ गरिएको छ । स्रोतका अनुसार सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको हो ।

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । ‘१८ महिने नानीको बलात्कारपछि हत्या भएको छ, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय माग्दै प्रदर्शन गर्दा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ,’ महिला अधिकारकर्मी शुशीला उप्रेतीले भनिन्, ‘प्रहरीको व्यवहार पीडितमैत्री भएन ।’ उनले न्याय माग्ने महिलाहरुलाई विनाशर्त रिहा गर्नुपर्ने बताइन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत शुक्रबार साँझ घरबाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए ।

गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो ।

अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण आरोपमा पक्राउ परेका थिए । आरोप पुष्टि नभएपछि १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका थिए । एउटा घटनाबाट उन्मुक्ती पाएको दुई महिनापछि उनकै योजनामा नाबालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ ।

Tags

छुटाउनु भयो कि ?