News in Nepali

ओलीलाई मतपत्रकाे रङ्गलाई लिएर नतर्सिन काङ्ग्रेस महामन्त्री शर्माको आग्रह

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रकाे रङ्गलाई लिएर नतर्सिन आग्रह गरेका छन् ।

आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले भने ‘कुन रङ्ग राखिएको छ भनेर रङ्गतर्फ भन्दा पनि आफ्नो ढङ्ग सच्याउनतर्फ लाग्नुपर्छ । रङ्गले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रष्ट छौँ । मतपत्रमा हरियो रङ्ग देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यस कारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनुपर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।’

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ्ग राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङ्गको विषयलाई लिएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरेका छन् ।

अध्यक्ष ओलीले केही दिनअघि नेपाली कांग्रेसकाे मत चिह्न हरियो रङ्गको रहेको उल्लेख गर्दै सबैले हरियो रङ्ग देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ्ग राख्ने निर्णय गरेको आरोप लगाएका थिए ।

Tags

छुटाउनु भयो कि ?