News in Nepali

सुमन लामाले छोडे पुलिस क्लब

Lumbinikhabar Online

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य एवम फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् ।

उनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए । ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए ।
फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर्दै मैदानमा ९३१ मिनेट (इन्जुरी समयबाहेक) बिताएका सुमन लिग जारी रहँदा विवाह बन्धनमा समेत बाँधिएका थिए । पुलिस छाडेलगत्तै उनलाई मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीलगायत टोलीले मोफसल प्रतियोगिता खेल्न प्रस्ताव गरे पनि केही समय विश्राम लिएर बस्ने सोच बनाएका बताएका छन् ।

दोस्रो संस्करणको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का लागि भने सुमन साविक विजेता काठमाडौं रेजर्समा खरिद भएका छन् । अक्सनमा बिक्री नभएका ए श्रेणीका सुमनलाई काठमाडौंले विस लिष्टमा खरिद गरेको हो । पहिलो संस्करणमा भने सुमनले बुटवल लुम्बिनीको प्रतिनिधित्व गरेका थिए ।

सुमनले राष्ट्रिय टोलीबाट भने २२ क्याप जितेका छन् । सन् २०१६ मा सुमनले बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?