एक नाबालिकाको अश्लील तस्बिर फेसबुकमा पोष्ट गरि चरित्र हत्या गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका २१ का २९ वर्षीय दिपु भन्ने विकास महर्जन रहेका छन् । उनले धादिङकी एक १६ वर्षीय नाबालिकाको अश्लील तस्बिर खिचेको र ती तस्बिरहरुलाई प्रयोग गरी धम्काउने, ब्ल्याकमेल गर्ने गरेको र पछि नाबालिका निज महर्जनसँग टाढिन थालेपछि उनले नाबालिकाको अश्लिल तस्बिर तथा उनीसँग जोडिएका स्टाटसहरु फेसबुकमा पोष्ट गर्न थालेको बताइएको छ ।
महर्जनले आफ्नो चरित्र हत्या गरेको र आफूमाथि ब्ल्याकमेल गरेको भन्दै पीडित नाबालिकाको परिवारले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछी उजुरी लगत्तै फरार भएका महर्जनलाई साइबर ब्यूरोको टोलीले फागुन २२ गते आइतबार पक्राउ गरेको हो ।
पक्राउलगत्तै महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।