News in Nepali

गाउँपालिकाका अध्यक्षले हतियारसहित हिँडडुल गरेपछि स्थानीय त्रसित

Lumbinikhabar Online

जाजरकोटको एक गाउँपालिकाका अध्यक्षले हतियारसहित हिँडडुल गरेपछि स्थानीय भयभीत भएका छन् । जिल्लाको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत जस्तै देखिने एक युवक बन्दुक बोकि मोटरसाइकलमा चढेको तस्वीर सार्वजनिक भएपछि स्थानीय त्रसित भएका हुन् ।

आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्ष बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।

‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो । म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ । सार्वजनिक कार्यक्रमको फोटो होइन ।’
अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पुयाइदिन आग्रह गरेको बताए । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए । अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको बारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीले बताए ।

 

Tags

छुटाउनु भयो कि ?