राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाह प्रकरणमा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, आग्रह गरेको छ ।
आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना रहन्छ । यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्याय सम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकार समेत प्रभावित भएको देखिन्छ ।’
शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति आयोगले गम्भीर चासो राख्दै यसबारे बोलेको हो ।