एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले प्रस्तुत हुने गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले रावलले पार्टीको निर्णय र धारणा विपरीत काम गरिरहेको ओलीको भनाइ थियो । रावल पार्टीको धारणा वा पार्टीको कामकारबाही भन्दा पृथक ढंगले गइरहेको उनले बताए ।
‘व्यक्तिगत तवरमा हिरो देखिन खोज्ने कामकारबाही, विचार राष्ट्रवाद वा लोकतन्त्रको वहनामा’ त्यस्ता क्रियाकलाप सांसद रावलबाट भइरहेको उनको भनाइ थियो । त्यसरी जानु पार्टीको अनुशासनभित्र नपर्ने ओलीले बताए ।
अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको बिरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ ।’
त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताए । नेता रावल एमसीसी विरोधी कार्यमा क्रियाशील रहेका छन् ।