News in Nepali

जमिनमा गाडिएको अवस्थामा भेटियो एक बालिकाको शव

Lumbinikhabar Online

मोरङमा एक बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । जिल्लाको लेटाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनभित्र खाल्डो खनेर गाडेको अवस्थामा लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव भेटिएको हो ।

जमिनमुनि पुरिएको शवलाई उत्खनन गरेर बाहिर निकाली पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको भएपनी स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा उत्रिएका स्थानीयसँग शव उठाउनका लागि समन्वय भइरहेको बताइएको छ । निबस्त्र अवस्थामा शव भेटिएका कारण बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी स्रोतले बताएको छ ।

प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा राई बुधबार दिउँसो ४ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शव फेला पारेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र घटनाका बारेमा थप भन्न सकिने प्रहरिले जनाएको छ ।

स्रोतका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।

 

Tags

छुटाउनु भयो कि ?