युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।
विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो ।
“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको जनाएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।
गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ । देशको हवाई क्षेत्र बन्द गरिएको छ ।
कीभमा बोरिस्पिल अन्तरर्राष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् ।