प्रतिनिधि सभामा एमसिसीबारे छलफल हुने दिन अर्थमन्त्री जनार्दन शर्मा पर्वतमा छन्।
उद्योग वाणिज्य संघ पर्वतको साधारण सभा उद्घाटनको लागि उनी त्यहाँ पुगेका हुन्।
फागुन ५ गते एमसीसी प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूचीमा पनि अर्थमन्त्रीको नाम थियो तर उनी अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।
आज संसदमा एमसीसीबारे छलफल गर्ने सम्भावित कार्यसूची छ । तर आजको बैठकमा पनि अर्थमन्त्री शर्मा नजाने भएका छन् । उनीसँगै रहेका पत्रकार त्रिभुवन पौडेलका अनुसार उद्योग वाणिज्य संघ पर्वतको कार्यक्रममा रहेकाले शर्मा काठमाडौं नफर्किने जानकारी दिए ।
एक महिनाअघि नै कार्यक्रम तय भएकाले शर्मा पर्वत पुगेको उनी निकट स्रोतले जनाएको छ । बुधबार बेलुका उनले उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरेका थिए ।
शर्मासँग आज बिहान पर्वतका पार्टी कार्यकर्ताहरु भेटघाट थियो । पार्टी कार्यकर्ताहरुको भेटघाटमा शर्माले यथास्थितिमा एमसीसी अगाडि बढ्न नसक्ने बताएका थिए ।
शर्माको २ बजेसम्मै पर्वतमा कार्यक्रम छ र ४ बजे पोखराबाट काठमाडौं फर्किने कार्यसूची छ ।