नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले एस्तो बताएका हुन् ।
प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको नेता बस्नेतले बताए । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’
यस्तै ,गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उनले बताए । इन्चार्ज बस्नेतले आगामी चुनावमा माओवादीसँग तालमेल हुने कुनै सम्भावना नरहेको बताए । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उनले भने, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं ।’